अमेरिका–इरानबीच दुई साताको युद्धविराम गर्न पाकिस्तान सफल, १० बुँदे सर्त सार्वजनिकसँगै तेलको मूल्यमा ठूलो गिरावट ।

lawanyasandesh.com

अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको घोषणा गरिएको छ। अमेरिकि राष्ट्रपति Donald Trump ले बुधबार बिहान आफ्नो ट्रुथ सोसलमार्फत युद्धविराममा सहमति भएको जानकारी दिएका हुन्। उनले यसअघि इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न अल्टिमेटम दिएका थिए र त्यसो नभए “इरानी सभ्यता नै ध्वस्त पार्ने” चेतावनी दिएका थिए। अल्टिमेटम सकिन दुई घण्टा बाँकी हुँदा युद्धविराममा सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था Reuters ले जनाएको छ।

तनाव चरम अवस्थामा पुगेपछि पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले रातभर दुवै पक्षसँग संवाद गरी मध्यस्थता गरेको बताइएको छ। सहमति भएपछि अमेरिका र इरान दुवैले सरिफलाई धन्यवाद दिएका छन्। अमेरिकी अधिकारीहरूले इजरायल पनि युद्धविराममा सहमत भएको दाबी गरेका छन् भने इरानी पक्षले लेबननसमेत समेटिएको जनाएको छ। दुई देशबीच १५ दिनभित्र इस्लामाबादमा औपचारिक वार्ता गर्ने तयारी गरिएको छ। करिब ६ हप्तादेखि जारी द्वन्द्वमा एक दर्जन देश प्रभावित हुँदा पाँच हजारभन्दा बढी मानिसको ज्यान गएको, जसमा इरानमा मात्र १,६०० भन्दा बढी सर्वसाधारण परेको जनाइएको छ।
इरानको १० बुँदे सर्त
तेहरानले युद्ध रोक्न १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अघि सारेको प्रस्तावमा क्षेत्रीय युद्ध पूर्ण रूपमा बन्द गर्नुपर्ने, इरानमाथिका आक्रमण स्थायी रूपमा अन्त्य गर्नुपर्ने तथा सबै द्वन्द्व समाप्त गर्ने सर्त राखिएको छ। यी सर्त पूरा भएमा मात्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र सुरक्षित आवतजावतका लागि नयाँ प्रोटोकल बनाउने उल्लेख छ।
इरानले युद्धका कारण भएको विनाशको पूर्ण क्षतिपूर्ति, अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्ध हटाउने तथा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने माग पनि राखेको छ। आर्थिक माग पूरा भएमा परमाणु हतियार निर्माणको दौडमा नलाग्ने प्रतिबद्धता दोहोर्‍याउने पनि तेहरानको प्रस्तावमा उल्लेख छ। यी सर्त अनुमोदन भएपछि सबै मोर्चामा तत्काल युद्धविराम लागू हुने इरानको दाबी छ।
युद्धविराम घोषणासँगै तेल मूल्य घट्यो

युद्धविरामको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।
अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १८ डलरभन्दा बढी घटेर करिब ९४ डलर आसपास पुगेको छ भने कारोबारका क्रममा ९१ डलरसम्म झरेको जनाइएको छ। विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुज खुल्ने संकेतले विश्व बजारमा आपूर्ति सहज हुने अपेक्षाले लगानीकर्तामा राहत आएको हो।
विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत यही जलमार्गबाट हुने भएकाले यसको बन्दले विश्व अर्थतन्त्रमा गम्भीर दबाब परेको थियो। युद्धविरामको प्रारम्भिक सहमतिले बजारमा तत्काल सकारात्मक प्रभाव देखिए पनि स्थायी शान्तिका लागि अझै राजनीतिक र प्राविधिक सहमति आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया