साँखु काठमाण्डौं । काठमाण्डौंको ऐतिहासिक तथा सांस्कृतिक नगर साँखुमा चर्चित नेपाली लोक–धुन समूह Kutumba (कुटुम्ब) को विशेष साङ्गीतिक प्रस्तुति हुने भएको छ। नेपाल राष्ट्रिय खड्गी समाज शङ्खरापुर नगर समितिको आयोजनामा तथा Kathmandu Metropolitan City को सहयोगमा ‘साङ्गीतिक सम्पदाको प्रतिध्वनि’ नामक विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्थानीय मौलिक बाजा, संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रममा देशकै लोकप्रिय लोक–वाद्य ब्याण्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ। नेपाली लोकसङ्गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली सांगीतिक पहिचान स्थापित गर्न सफल कुटुम्बको प्रस्तुति हेर्न साँखुवासी तथा संगीतप्रेमीहरू उत्साहित बनेका छन्।
आयोजकका अनुसार कार्यक्रम २०८३ जेठ १६ गते दिउँसो १२ बजेदेखि साँखुको इन्ला टोल पुखुलाछी क्षेत्रमा सञ्चालन हुनेछ। कार्यक्रममा स्थानीय परम्परागत सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, समुदायका कलाकारहरूको प्रस्तुति तथा सांस्कृतिक संरक्षणसम्बन्धी विशेष सन्देशसमेत समावेश गरिने तयारी गरिएको छ।
नेपाल राष्ट्रिय खड्गी समाज शङ्खरापुर नगर समितिले सार्वजनिक गरेको प्रचार सामग्रीमा सम्पूर्ण कला, संस्कृति तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली मौलिक संस्कृतिको संरक्षण अभियानमा साथ दिन आग्रह गरिएको छ।
साँखु ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध नगरका रूपमा परिचित रहँदै आएको छ। पछिल्ला वर्षहरूमा यहाँ सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमहरू बढ्दै गएका छन्। स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृति र परम्पराप्रति आकर्षित गराउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
विशेषगरी आधुनिकताको प्रभावबीच हराउँदै जान थालेका परम्परागत बाजा र लोकधुनलाई पुनः जनमानसमा स्थापित गर्न कुटुम्बजस्ता समूहको भूमिका महत्वपूर्ण रहेको सांस्कृतिक अभियन्ताहरू बताउँछन्। साँखुमा हुन लागेको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।