निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै गगन थापाद्वारा सभापति पदबाट राजीनामा
साँखु,काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापा ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठक चैत ६ गतेका लागि तय भएसँगै उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ।
यद्यपि पार्टीले औपचारिक रूपमा राजीनामा सार्वजनिक गरिसकेको छैन। आगामी बैठकमा यसबारे विस्तृत छलफल हुने र आवश्यक निर्णय लिइने बताइएको छ।राजीनामापछिको प्रक्रिया र राजनीतिक सन्दर्भ
पार्टी स्रोतका अनुसार थापाको निर्णय व्यक्तिगत तथा नैतिक आधारमा भए पनि त्यसलाई स्वीकृत गर्ने वा अस्वीकृत गर्ने अधिकार केन्द्रीय कार्यसमितिमै निहित रहनेछ। प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा निर्वाचनको समग्र समीक्षा, नेतृत्वको जिम्मेवारी तथा संगठनात्मक कमजोरीबारे गम्भीर छलफल गरिनेछ।
यसअघि विशेष महाधिवेशनमार्फत थापा–शर्मा नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो, जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन अवस्थामै रहेको छ।
चुनावी नतिजा र नेतृत्वमाथि दबाब
‘अबकि बार, सय पार’ भन्ने महत्वाकांक्षी नारासहित चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ। सभापति थापा स्वयं पनि सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजार ८५७ मतान्तरले पराजित भएका थिए।
पार्टीभित्रका नेताहरूका अनुसार कमजोर चुनावी प्रदर्शन र व्यक्तिगत हारपछि थापाले केही दिनदेखि नै राजीनामाको मनस्थिति बनाउँदै आएका थिए। केही नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न सुझाव दिए पनि उनी आफ्नो अडानमा कायम रहेको बताइएको छ।
महाधिवेशन र आगामी रणनीति
विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले संगठनमा सुधारको अपेक्षा जगाए पनि त्यसको प्रभाव चुनावी परिणाममा देखिन सकेन। अब पार्टी नियमित १५ औँ महाधिवेशनको तयारीतर्फ उन्मुख भएको छ।
विधानअनुसार आगामी जेठभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब कांग्रेसमाथि छ। विशेष महाधिवेशनमा सहभागी नभएको देउवा समूह भने अहिले पनि स्पष्ट धारणा बनाउन नसकेको अवस्थामा रहेको छ। शेरबहादुर देउवा हाल व्यक्तिगत कारणले सिंगापुरमा रहेका कारण समूहभित्र अन्योलता कायम रहेको स्रोतले जनाएको छ।
पार्टीभित्र बढ्दो बहस
थापाको राजीनामाले कांग्रेसभित्र नेतृत्व परिवर्तन, आन्तरिक एकता र संगठन सुदृढीकरणको बहसलाई पुनः तीव्र बनाएको छ। अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले कांग्रेसभित्र नयाँ ध्रुवीकरणको सम्भावना बढाएको छ भने पराजयका कारणको गहिरो समीक्षा गर्दै संगठन पुनर्संरचनामा केन्द्रित हुनुपर्ने दबाबसमेत सिर्जना गरेको छ।
