साँखु काठमाण्डौं। करिब दुई महिनादेखि जारी रहेको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समिति र जहरसिंपौवा सामुदायिक वन उपभोक्ता समूहबीचको विवाद अन्ततः सुखद निष्कर्षमा पुगेको छ। शंखरापुर नगरपालिकाको पहल, अध्ययन समितिको प्रतिवेदन तथा नगरप्रमुख रमेश नापितको निर्णयपछि दुवै पक्षबीच ११ बुँदे सहमति कायम भएको छ।
खानेपानीको मुहान क्षेत्र नजिक निर्माणाधीन पिकनिक स्थलका कारण सम्भावित प्रदूषण र मुहान संरक्षणलाई लिएर उत्पन्न विवाद समाधान भएसँगै शंखरापुर क्षेत्रमा दीर्घकालीन खानेपानी व्यवस्थापन र मुहान संरक्षणको नयाँ अध्याय सुरु भएको स्थानीयवासीले बताएका छन्।
विवाद समाधानका लागि शंखरापुर नगरपालिकाले गठन गरेको अध्ययन समितिले हिलेचौर तथा आसपासका मुहान क्षेत्र, प्रस्तावित पिकनिक स्थल र त्यसको प्रभावबारे स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनले खानेपानीको मुहान संरक्षणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिवेदनअनुसार पिकनिक स्थल सञ्चालनका क्रममा उचित व्यवस्थापन नभए मुहान क्षेत्र प्रदूषित हुन सक्ने सम्भावना रहेको भए पनि आवश्यक सुरक्षा उपाय अवलम्बन गरेमा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। साथै भविष्यमा खानेपानीमा प्रतिकूल असर देखिए कुनै पनि बेला बिना रोकावत पिकनिक स्थल बन्द गर्ने स्पष्ट सिफारिस गरिएको छ।
नगरपालिकाको समन्वयमा भएको सहमतिमा नगरप्रमुख रमेश नापित, वडा नं. ३, ४, ६ र ७ का वडाध्यक्षहरू तथा सरोकारवाला पक्षहरूको सक्रिय भूमिका रहेको बताइएको छ। स्थानीयवासीले यसलाई शंखरापुरको खानेपानी संरक्षण अभियानको ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।
सिमसार घोषणा र संरक्षित मुहान क्षेत्र बनाउने
सहमतिको सबैभन्दा महत्वपूर्ण पक्ष हिलेचौर तथा आसपासका मुहान क्षेत्रलाई संरक्षण गर्ने विषय बनेको छ। अध्ययन प्रतिवेदनले उक्त क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गर्न तथा दीर्घकालीन रूपमा संरक्षित जलाधार क्षेत्रका रूपमा विकास गर्न सम्बन्धित निकायमा पहल गर्न सिफारिस गरेकोमा शंखरापुर नगरपालिका अदिक रहने मेयर रमेश नापितले बताए।
यसैअनुसार शंखरापुर नगरपालिकाले बोझेनी क्षेत्रमा रहेको काफल चौर धोक्सान तथा विभिन्न खोल्सा–खोल्सीहरू समेटेर संरक्षित खानेपानी मुहान क्षेत्रका रूपमा सिमसार घोषणा गर्ने प्रस्ताव कार्यपालिकामा पेश गरि निर्णय गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रस्ताव स्वीकृत भए शंखरापुर नगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक सिमसार क्षेत्र घोषणा गर्नेछ। साथै उक्त क्षेत्र नगरभित्रकै पहिलो संरक्षित खानेपानी मुहान क्षेत्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
ड्याम निर्माणको बाटो खुल्यो
अध्ययन प्रतिवेदनले बढ्दो जनसंख्या र भविष्यको पानीको मागलाई मध्यनजर गर्दै हिलेचौर क्षेत्रमा ड्याम निर्माण गरी पानी संकलन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
सहमतिपछि नगरपालिकाले ड्याम निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढाउने वचन मेयर रमेश नापितले दिएको छ। यसले लामो समयदेखि पानी अभाव भोग्दै आएका स्थानीय बासिन्दामा नयाँ आशा जगाएको छ।
पानी अभावकै कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको वडा नं ३ को करिब १ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की अब भरिने सम्भावना बढेको स्थानीय बोझेनीबासिहरुको भनाई छ। ड्याम निर्माण सम्पन्न भए बोझेनी क्षेत्रका बासिन्दाले नियमित खानेपानी पाउने अपेक्षा गरिएको छ भने साँखु तथा शंखरापुर क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको जनसंख्याको खानेपानी आवश्यकतालाई समेत सम्बोधन गर्न सकिने विश्वास गरिएको छ।
मुहान क्षेत्रमा तारबार, प्रवेश नियन्त्रण र नियमित परीक्षण
अध्ययन समितिले मुहान संरक्षणका लागि विभिन्न सुरक्षा उपायहरू सिफारिस गरेको छ। चियानडाँडा हुँदै जहरसिंपौवा जाने बाटोको वन क्षेत्रतर्फको भागमा अनधिकृत गतिविधि रोक्नुपर्ने, मुहान क्षेत्र वरपर तारबार लगाउनुपर्ने तथा सर्वसाधारणको आवतजावत नियन्त्रण गर्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ।
त्यसैगरी हिलेचौर क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन प्रवेशमा नियन्त्रण, वृक्षारोपण कार्यक्रम सञ्चालन, नियमित पानी परीक्षण तथा अवाञ्छित गतिविधिमाथि निगरानी बढाउनुपर्ने उल्लेख गरिएको छ।
पिकनिक स्थल सञ्चालनमा कडा सर्त
अध्ययन प्रतिवेदनले प्रस्तावित पिकनिक स्थल सञ्चालनलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि खानेपानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ।
पिकनिक स्थल निर्माण कार्यबाट भविष्यमा खानेपानीको मुहान प्रदूषण भएमा कुनै पनि बखत निशर्त पिकनिक स्थल बन्द गरिने बताए।यस निर्णयले पर्यटन प्रवर्द्धन र प्राकृतिक स्रोत संरक्षणबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको देखिन्छ।
आपसी सहकार्यबाट विवादको अन्त्य
प्रतिवेदनले दुवै संस्थाबीचको सम्बन्ध थप सुदृढ बनाउन एकअर्कालाई सदस्यता दिने, कानुनी तथा संस्थागत प्रक्रियामा सहयोग गर्ने र एकअर्काविरुद्ध परेका उजुरी फिर्ता गर्नेसम्मका कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ।
शंखरापुर वडा नं. ७ का अध्यक्ष तथा ११ सदस्यीय प्रतिवेदनका संयोजक विष्णु प्रसाद श्रेष्ठले पेश गर्नुभएको प्रतिवेदनमाथि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको अध्यक्षतामा बसेको निर्णार्थ इजलासले छलफल गरी उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने फैसला गरेको छ। साथै, फैसला कार्यान्वयनका लागि वडा नं. ३, ४, ६ र ७ लाई बोधार्थ पठाउँदै, साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा जहरसिंपौवा सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक कार्यान्वयनका लागि कार्याथ निर्देशन दिएको छ।
दुई महिनादेखि स्थानीय स्तरमा चासोका साथ हेरिएको विवाद सहमतिमा टुंगिएसँगै अब शंखरापुर क्षेत्रको प्रमुख प्राथमिकता मुहान संरक्षण, सिमसार घोषणा, संरक्षित जलाधार ड्याम्म निर्माण र दीर्घकालीन खानेपानी व्यवस्थापनतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार यो सहमति केवल दुई संस्थाबीचको विवाद समाधान मात्र नभई भावी पुस्ताका लागि खानेपानी स्रोत संरक्षण गर्ने ऐतिहासिक कदमका रूपमा स्थापित हुने विश्वास गरिएको छ।