शंखरापुर, काठमाण्डौं । समाजमा बढ्दो लागू औषध दुर्व्यसन तथा किशोर–किशोरीहरूमा देखिन थालेको कुलतको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शंखरापुरमा विद्यालयस्तरबाटै सचेतनामूलक अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको छ। यसै अभियानअन्तर्गत मंगलबार शंखरापुर नगरपालिका वडा नं. ९ सानागाउँस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसनविरुद्ध विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम “हाम्रो प्रहरी” अन्तर्गत आयोजना गरिएको कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। किशोरावस्थामा हुने गलत संगत, कुलत तथा लागू औषधको प्रभावबारे समयमै सचेत गराई सुरक्षित र जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक (असई) अनिल राज थापा, सामुदायिक प्रहरी सेवातर्फका कल्पना थापा ओली र रूपा खतिवडा, साथै अनुसन्धान विभागका राजेश भुजेलले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षकहरूले लागू औषध दुर्व्यसनका कारण व्यक्तिको मानसिक, शारीरिक, सामाजिक तथा आर्थिक जीवनमा पर्ने नकारात्मक असरबारे विस्तृत जानकारी गराउनुभएको थियो।
उहाँहरूले लागू औषध प्रयोगले व्यक्तिको भविष्य मात्र नभई परिवार र समाजलाई समेत गम्भीर असर पुर्याउने भएकाले यसबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। साथै, कुलतमा फस्न सक्ने सम्भावित अवस्थाहरू, त्यसबाट बच्ने उपाय, साथी छनोटमा अपनाउनुपर्ने सावधानी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउने प्रक्रियाबारे समेत विद्यार्थीहरूलाई जानकारी दिइएको थियो।
प्रशिक्षणका क्रममा अनुसन्धान तथा कानुनी पक्षबारे समेत प्रकाश पार्दै लागू औषधसम्बन्धी अपराधमा संलग्न भएमा हुने कानुनी कारबाहीका विषयमा विद्यार्थीहरूलाई अवगत गराइएको थियो। प्रशिक्षकहरूले लागू औषधविरुद्धको अभियानमा विद्यार्थी स्वयं सचेत भई आफ्नो समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कारंजित, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको समेत सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक कारंजितले वर्तमान समयमा विद्यालयस्तरमै यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै प्रहरीले विद्यालयमै आएर दिएको प्रशिक्षण अत्यन्त उपयोगी र समयसान्दर्भिक रहेको बताउनुभयो।
उहाँले विद्यार्थीहरूलाई कुलत, दुर्व्यसन तथा विभिन्न सामाजिक विकृतिबाट जोगाउन विद्यालय प्रशासन सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै विद्यालय र प्रहरीबीचको सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाइने समेत उहाँले बताउनुभयो।
समुदाय–प्रहरी साझेदारी अवधारणालाई व्यवहारमा उतार्दै सञ्चालन भइरहेको “हाम्रो प्रहरी” कार्यक्रमअन्तर्गत शंखरापुरका विभिन्न विद्यालय तथा समुदायमा सचेतनामूलक गतिविधि सञ्चालन हुँदै आएका छन्। स्थानीय तह, शैक्षिक संस्था र समुदायसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।
लागू औषधविरुद्धको लडाइँमा विद्यालय, परिवार, समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको सन्देश दिँदै सम्पन्न भएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र सभ्य समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।