साँखु, काठमाण्डौं। भक्तपुरमा एक दर्दनाक घरेलु हिंसाको घटनामा श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। बुधबार बेलुका भएको उक्त घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने परिवारभित्र बढ्दो हिंसात्मक प्रवृत्तिप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार अभियुक्त विदुर विश्वकर्मा स्थायी घर शंखरापुर वडा नं १ नाङ्लेभारे घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक डेरा गरी बस्दै आएका दम्पतीबीच घरायसी विवाद चर्किँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मामाथि उनका श्रीमान् ३८ वर्षीय विदुर विश्वकर्माले खुकुरी प्रहार गरेका थिए। खुकुरीको गम्भीर चोटका कारण सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिएपछि विदुरले धारिलो हतियार प्रयोग गरेका थिए। घटनाका क्रममा झगडा रोक्ने प्रयास गरेका उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन्। बालकको शरीरमा सामान्य चोट लागेको र तत्काल उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो। उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई डिस्चार्ज गरिएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि बालकको सुरक्षा, मनोसामाजिक अवस्था तथा आवश्यक संरक्षणलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ। सम्बन्धित निकायले बालकलाई आवश्यक परामर्श तथा संरक्षण प्रदान गर्ने तयारी गरिरहेको बताइएको छ।
घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै हत्यामा प्रयोग गरिएको खुकुरी बरामद गरेको छ।
प्रहरीले अभियुक्त विदुर विश्वकर्मालाई घटनालगत्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको वास्तविक कारण, विवादको पृष्ठभूमि तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले घरेलु विवाद र पारिवारिक हिंसाले कति भयावह रूप लिन सक्छ भन्ने पुनः स्मरण गराएको छ। समाजमा बढ्दो घरेलु हिंसा नियन्त्रण, पारिवारिक विवादको समयमै समाधान तथा मनोसामाजिक परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता यस घटनाले उजागर गरेको स्थानीयवासीको भनाइ छ।
घटनाप्रति स्थानीय समुदाय, अधिकारकर्मी तथा सरोकारवाला निकायले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।