शंखरापुर,काठमाण्डौं।अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार राति इरानका विभिन्न लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार होर्मुज जलडमरूमध्य नजिक अमेरिकी एएच–६४ अपाचे हेलिकोप्टर दुर्घटनाग्रस्त भएको घटनापछि उक्त सैन्य कारबाही गरिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्तीमा रहेको अमेरिकी अपाचे हेलिकोप्टर इरानले खसालेको दाबी गर्दै त्यसको जवाफ दिन अमेरिका बाध्य भएको बताएका छन्। यद्यपि हेलिकोप्टरमा सवार दुवै पाइलट सकुशल रहेको जानकारी दिइएको छ। ट्रम्पले आगामी दुई साताभित्र इरानविरुद्ध “पूर्ण विजय” घोषणा गर्ने दाबी समेत गरेका छन्।
यता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको कडा आलोचना गर्दै इरानी सेनाले प्रत्येक आक्रमणको उचित जवाफ दिने चेतावनी दिएका छन्। उनले अमेरिका सुरक्षित रहन चाहन्छ भने क्षेत्र छाड्नुपर्ने बताएका छन्।
हेलिकोप्टर दुर्घटनाबारे भने फरक–फरक दाबी सार्वजनिक भएका छन्। एक अमेरिकी अधिकारीका अनुसार हेलिकोप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।
यसैबीच इरानको रिभोलुसनरी गार्ड (IRGC) ले बहराइनस्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लीटमाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी इरानमा अमेरिकी आक्रमणपछि प्रतिशोधस्वरूप उक्त कारबाही गरिएको हो। तर अमेरिकी पक्षले हालसम्म उक्त दाबीको पुष्टि गरेको छैन।
इरानी समाचार संस्था मेहरका अनुसार दक्षिणी बन्दरगाह शहर बन्दर अब्बास तथा केश्म द्वीप क्षेत्रमा मंगलबार राति श्रृंखलाबद्ध विस्फोटका आवाज सुनिएका छन्। ती क्षेत्रहरू विश्वको महत्वपूर्ण तेल तथा समुद्री व्यापार मार्ग मानिने होर्मुज जलडमरूमध्य नजिक पर्दछन्। विस्फोटको कारण भने खुल्न सकेको छैन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरान अब युद्धभन्दा वार्तामार्फत समाधान खोज्न इच्छुक देखिएको बताएका छन्। उनले अमेरिका र इरानबीच सम्भावित सम्झौता अमेरिकी जनताका लागि ठूलो उपलब्धि हुने धारणा व्यक्त गरेका छन्।
उता इजरायली सेनाका प्रमुख एयाल जामिरले आवश्यकता परे इजरायलले इरानमाथि पुनः आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। उनले हालैको सैन्य कारबाही ठूलो अभियानको प्रारम्भिक चरण मात्र भएको दाबी गर्दै इजरायल आफ्ना सबै सैन्य विकल्प खुला राखेर अघि बढिरहेको बताएका छन्।
अमेरिका, इरान र इजरायलबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्। विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य वरपरको अस्थिरताले अन्तर्राष्ट्रिय तेल बजार र विश्व व्यापारमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।