कारभित्र जलेको अवस्थामा ४१ वर्षीया महिलाको शव फेला, घटनाबारे प्रहरीले सुरु गर्‍यो गहन अनुसन्धान

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–१, कालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले मृत्युको कारण पत्ता लगाउन गहन अनुसन्धान अघि बढाएको जनाएको छ।

शनिबार दिउँसो करिब १ बजे B AE 0410 नम्बरको विद्युतीय कारको पछाडिपट्टिको सिटमा तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे पुष्टि गर्दै शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बताएका छन्।

प्रहरी टोलीले घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी कारको अवस्था, आगलागीको कारण, प्राविधिक पक्ष तथा अन्य सम्भावित कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

घटनाले स्थानीय क्षेत्रमा चासो र कौतूहल उत्पन्न गरेको छ भने प्रहरीले यस घटनाका सबै सम्भावित पक्षको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया