शंखरापुरका महिला नेतृलाई डिजिटल राजनीतिक सशक्तीकरण तालिम

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। स्थानीय तहमा महिला नेतृत्वको राजनीतिक सहभागिता अभिवृद्धि गर्ने तथा डिजिटल प्रविधिको प्रभावकारी र सुरक्षित प्रयोगमा महिला नेतृहरूलाई सक्षम बनाउने उद्देश्यले शंखरापुर नगरपालिकामा सञ्चालित दुईदिने डिजिटल राजनीतिक सशक्तीकरण तालिम सम्पन्न भएको छ।

वुमन लिडर्स इन टेक्नोलोजी (डब्लुएलआईटी) को आयोजनामा डिजिटल डेमोक्रेसी इनिसिएटिभ (डीडीआई) अन्तर्गत सञ्चालित ‘डिजिटल पोलिटिकल एम्पावरमेन्ट बुटक्याम्प’ सेप्टेम्बर २१ र २२, २०२६ मा शंखरापुर नगरपालिकास्थित समरा गार्डेनमा सम्पन्न भएको हो। कार्यक्रमलाई सिभिकस, डिजिटल डेमोक्रेसी इनिसिएटिभ साउथ एसिया र अकाउन्टेबिलिटी ल्याबले सहयोग गरेका थिए।

महिला राजनीतिक नेतृत्वलाई डिजिटल प्रविधिको प्रयोगमा सक्षम बनाउने, निर्वाचन अभियानलाई प्रभावकारी बनाउने तथा सामाजिक सञ्जालमा सुरक्षित र जिम्मेवार उपस्थिति कायम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो। यही कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिकामा पनि सेप्टेम्बर १८ र १९ मा तालिम सञ्चालन गरिएको थियो। दुवै स्थानमा गरी कुल ५४ जना स्थानीय तहका राजनीतिक नेतृत्वले सहभागिता जनाएका थिए।

डिजिटल राजनीतिक अभियान र सामाजिक सञ्जाल व्यवस्थापनमा जोड

तालिममा सहभागी ४० महिला नेतृहरूलाई सामाजिक सञ्जालका एल्गोरिदम, व्यक्तिगत तथा व्यावसायिक पहिचान निर्माण, राजनीतिक प्रचारप्रसारका डिजिटल रणनीति र सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा सूचना सम्प्रेषण गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो।

परम्परागत प्रचारप्रसारका माध्यममा मात्र निर्भर नरही डिजिटल प्रविधिको उपयोगमार्फत मतदाता तथा नागरिकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न सकिने विषयमा पनि जोड दिइएको थियो। राजनीतिक गतिविधि, अभियान तथा सार्वजनिक सन्देशलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न डिजिटल माध्यमको भूमिका महत्वपूर्ण हुने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

डिजिटल सुरक्षा र कानुनी प्रावधानबारे जानकारी

प्रशिक्षक राम लम्सालले सहजीकरण गरेको तालिममा डिजिटल सुरक्षालाई विशेष प्राथमिकता दिइएको थियो। सहभागीहरूलाई गलत सूचना तथा भ्रामक समाचार पहिचान गर्ने, डिपफेक सामग्रीबाट उत्पन्न हुन सक्ने जोखिम बुझ्ने र प्रविधिको माध्यमबाट हुने लैङ्गिक हिंसाबाट सुरक्षित रहने उपायबारे प्रशिक्षण दिइएको थियो।

त्यसैगरी, सामाजिक सञ्जालमा हुने दुर्व्यवहार तथा अनलाइन हिंटनाका घटनामा अपनाउन सकिने कानुनी प्रक्रिया, उजुरी गर्ने तरिका र सम्बन्धित प्लेटफर्मबाट उपलब्ध उपचारका उपायबारे जानकारी प्रदान गरिएको थियो। डिजिटल माध्यम प्रयोग गर्दा के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा कानुनी प्रावधानको जानकारीसमेत दिइएको थियो।

तालिममा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी राजनीतिक प्रचार सामग्री तथा सामाजिक सञ्जालका सामग्री तयार गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो। एआईको प्रयोग गर्दा अपनाउनुपर्ने नैतिकता, एल्गोरिदममा हुन सक्ने पक्षपात तथा डिजिटल अधिकारसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो।

‘तालिम अत्यन्तै लाभदायी रह्यो’ : सिरपा श्रेष्ठ

तालिममा सहभागी सिरपा श्रेष्ठले प्रशिक्षण अत्यन्तै लाभदायी रहेको बताइन्। डिजिटल प्रविधिको प्रयोगसम्बन्धी ज्ञान हासिल गर्नुका साथै कानुनी प्रावधानबारे जानकारी प्राप्त भएकाले तालिम उपयोगी बनेको उनको भनाइ थियो।

‘के गर्न हुने र के गर्न नहुने भन्ने कानुनी प्रावधानबारे समेत जानकारी पाएकाले यो प्रशिक्षण निकै लाभदायी रह्यो,’ श्रेष्ठले बताइन्।

उनका अनुसार, तालिमले सामाजिक सञ्जालको प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन, डिजिटल माध्यममा जिम्मेवार ढङ्गले प्रस्तुत हुन र अनलाइन गतिविधिसम्बन्धी कानुनी सीमाबारे सचेत रहन सहयोग पुर्‍याएको छ।

नगर प्रमुख, उपप्रमुख र आयोजक संस्थाको हस्ताक्षरसहित प्रमाणपत्र

दुईदिने तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। प्रमाणपत्रमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ तथा वुमन लिडर्स इन टेक्नोलोजी (डब्लुएलआईटी) की कार्यकारी निर्देशक न्हसला जोशीको हस्ताक्षर रहेको छ।

महिला नेतृत्वलाई प्रविधिमैत्री बनाउने अपेक्षा उपमेयर समिता श्रेष्ठले बताइन

डिजिटल प्रविधिमा पहुँच र प्रयोग क्षमताको अभावले महिला नेतृहरूको राजनीतिक सहभागिता प्रभावित हुन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता प्रशिक्षण उपयोगी हुने अपेक्षा उनले लिएको बताए। तालिमबाट प्राप्त ज्ञान र सीपले महिला नेतृहरूलाई निर्वाचन अभियानमा डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्न, गलत सूचनाको पहिचान गर्न र अनलाइन दुर्व्यवहारको सामना गर्न सहयोग पुग्ने विश्वास गर्न सकिने हुन्छ मेयर रमेश नापित।

स्थानीय शासन, नीति निर्माण र लोकतान्त्रिक प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न डिजिटल साक्षरता, प्रविधिको सुरक्षित प्रयोग र कानुनी सचेतना महत्वपूर्ण छन्। महिला नेतृत्वलाई प्रविधिमैत्री बनाउँदै डिजिटल माध्यममा उनीहरूको उपस्थिति, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

प्रतिक्रिया