शंखरापुर (साँखु), काठमाण्डौं। शंखरापुर नगरपालिका–६ स्थित श्री भगवती माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीको स्वागत, कक्षा १२ उत्तीर्ण विद्यार्थीको बिदाइ तथा विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विजया दशमी, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्ने सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण ७६ जना विद्यार्थीलाई बधाई ज्ञापनसहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। यस वर्ष विद्यालयबाट उत्तीर्ण विद्यार्थीतर्फ सुरज बैथाले सर्वाधिक ३.९ जीपीए प्राप्त गरेका छन्। त्यसैगरी, विभिन्न संकायमा कक्षा ११ मा नयाँ भर्ना भएका ९९ जना विद्यार्थीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्याम कुमार वाईवालाई विद्यालयप्रतिको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी, शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठलाई पशुपतिनाथ मन्दिरको प्रतिमा प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले शिक्षाको विकासलाई समृद्ध समाज निर्माणको आधारका रूपमा उल्लेख गर्दै स्थानीय तहमा शैक्षिक गुणस्तर सुधारका लागि भएका प्रयासबारे चर्चा गर्नुभयो। उहाँले आफू नगरपालिकाको नेतृत्वमा आएपछि शिक्षाको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउँदै शंखरापुरमा शैक्षिक प्रगति पहिलेको तुलनामा सुधार हुँदै गएको धारणा व्यक्त गर्नुभयो।
उहाँले छिमेकी मुलुकहरूको आर्थिक तथा सामाजिक समुन्नतिमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालले पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। शिक्षामा लगानी, गुणस्तरीय पठनपाठन र विद्यार्थीको क्षमता विकासलाई प्रभावकारी बनाउन सके मुलुकको समग्र विकासमा योगदान पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको उपस्थिति रहेको थियो। उहाँले शैक्षिक उपलब्धि हासिल गर्न विद्यालय, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको सन्देश दिनुभएको थियो।
त्यसैगरी, भाग्योदय क्याम्पसका प्रमुख कुन्ज जोशी, शंखरापुर नगरपालिकाका शिक्षा प्रमुख हेमन्तकुमार बुढाथोकीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका सदस्य सानु गोले, सबिका नेपाली, पासाङ ल्हामु शेर्पा तथा सल्लाहकार श्याम कुमार वाईवालगायतको उपस्थिति रहेको कार्यक्रममा करिब ३०० जना विद्यार्थी तथा शिक्षक सहभागी थिए।
कार्यक्रमका बीच–बीचमा विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीका सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। स्वागत, बिदाइ, सम्मान र चाडपर्वको शुभकामना आदानप्रदानलाई एकैसाथ समेटिएको कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालय छाडेर उच्च शिक्षातर्फ अघि बढ्ने विद्यार्थीबीच आत्मीय सम्बन्ध स्थापित गर्न सहयोग पुर्याएको थियो।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर कार्कीले विद्यार्थीहरूलाई पढाइसँगै अनुशासित, जिम्मेवार र असल नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले शैक्षिक सफलता मात्र नभई जीवनमा असल आचरण, लगनशीलता र अनुशासन पनि उत्तिकै महत्वपूर्ण हुने बताउँदै कक्षा १२ उत्तीर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
कक्षा १२ उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि भाग्योदय माध्यमिक विद्यालयमा समेत अध्ययनलाई निरन्तरता दिन सक्ने उल्लेख गर्दै उहाँले प्रधानाध्यापक कुञ्ज जोशी र अनुप श्रेष्ठसँग समन्वय गरेर अघि बढेमा विद्यार्थीलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत, उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान गर्दै विद्यालयको शैक्षिक यात्रालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीको शैक्षिक उपलब्धिको सम्मान गर्नुका साथै नयाँ शैक्षिक यात्राको सुरुवात, पूर्वविद्यार्थीको सफलताको कामना र विद्यालय परिवारबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको छ।