शंखरापुर, काठमाण्डौं। महाकवि गिरिजाप्रसाद जोशी लुमन्ति प्रतिष्ठानको आयोजनामा नेपालभाषा गजल गोष्ठी तथा गजलकार शैलेन्द्र श्रेष्ठद्वारा लिखित गजल सङ्ग्रह ‘मतिना पौ’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
२०८३ साल असोज २४ गते शनिबार साँखुस्थित भगवती स्कुल, भौ ध्वाखामा आयोजित कार्यक्रममा नेपालभाषा साहित्यका सर्जक, साहित्यकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष यचु जोशीको सभापतित्व तथा वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गजलकार शैलेन्द्र श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा भाग्योदय कलेजका प्रिन्सिपल कुन्ज जोशीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रमको सुरुआत दीप प्रज्वलन, मौनधारण तथा महाकवि गिरिजाप्रसाद जोशीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पणबाट गरिएको थियो। कार्यक्रममा सहभागी साहित्यकारहरूले नेपालभाषा साहित्यको संरक्षण, संवर्द्धन तथा गजल विधाको विकासका विषयमा विचार व्यक्त गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको गजल वाचन सत्रमा विभिन्न गजलकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। ध्रुव मधिकर्मी, पलेस्वां श्रेष्ठ, बद्री वेदना, मदन जूंजं, रजनी मिला, राज अक्ष्योभ्य, राजा वज्राचार्य, रामेश श्रेष्ठ, रामेश्वर जलन, रामेश्वर मिश्रण, रासा (राजु सायमि), सञ्जयराज शर्मा, समान्त, समाश्री, सुधीर ख्वबि, सुरेन्द्रलाल भुजु, श्रीभक्त श्रेष्ठ, राजेश श्रेष्ठ, रामकृष्ण सिं डंगोल, रोजी श्रेष्ठ र मानन्धर अभागीसहितका गजलकारहरूले नेपालभाषामा रचित गजल वाचन गरेका थिए। रीता महर्जनले आफ्ना गजल गायनमार्फत प्रस्तुत गरेकी थिइन्।
सोही अवसरमा गजलकार शैलेन्द्र श्रेष्ठद्वारा रचित ‘मतिना पौ’ गजल सङ्ग्रहको लोकार्पण गरिएको थियो। साहित्यकारहरूले कृतिको महत्त्व र नेपालभाषा गजलको वर्तमान अवस्थाबारे चर्चा गर्दै मातृभाषामा साहित्य सिर्जना तथा प्रकाशनले भाषाको संरक्षण र साहित्यिक परम्परालाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन रामेश्वर श्रेष्ठ ह्याङ्गु निभाले गरेका थिए। समापनका क्रममा महाकवि गिरिजाप्रसाद जोशी लुमन्ति प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद जोशीले सहभागी अतिथि, साहित्यकार, गजलकार, सहयोगी तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्याउनेप्रति आभार प्रकट गरेका थिए।
नेपालभाषा गजलको सिर्जना, वाचन र कृति प्रकाशनलाई एउटै मञ्चमा जोड्दै सम्पन्न कार्यक्रमले स्थानीय भाषा, साहित्य र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकले जनाएको छ।