ब्रम्हखेल चोकमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा ६९ वर्षीय श्रेष्ठ गम्भीर घाइते

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रम्हखेल चोकमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ६९ वर्षीय श्रीकृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन्।

प्रारम्भिक विवरणअनुसार बिहान करिब ७ः३० बजे जोरपाटीबाट साँखुतर्फ जाँदै गरेको बा ५५ प २७५ नम्बरको मोटरसाइकल र नयाँ विद्युतीय (ईभी) ट्याक्सी एकआपसमा ठोक्किएका हुन्। ब्रम्हखेल चोकमा ट्याक्सी दायाँ मोड्ने क्रममा दुर्घटना भएको बताइएको छ।


शंखरापुर नगरपालिका–७ निवासी श्रेष्ठको बायाँ घुँडा तथा बायाँ हातका औँलासम्म चोट लागेको जनाइएको छ। दुर्घटनालगत्तै उनलाई त्यही ट्याक्सीमा राखेर जोरपाटी, नारायणटारस्थित नेपाल अर्थोपेडिक अस्पताल पुर्‍याइएको थियो। हाल उनको उपचार भइरहेको जानकारी प्राप्त भएको छ।


ट्याक्सी चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका स्थायी ठेगाना भई हाल कागेश्वरी मनोहरा नगरपालिका–४, ब्रम्हखेल बस्ने ४१ वर्षीय चित्रबहादुर बस्नेत रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।


दुर्घटनामा ट्याक्सी र मोटरसाइकल मध्य मोटरसाइकल बढी क्षती पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

दुर्घटनाले दुवै परिवारमा चिन्ता

दसैँको उल्लास र पारिवारिक भेटघाटको समयमा भएको यस दुर्घटनाले दुवै परिवारमा चिन्ता र पीडा थपेको छ। चाडपर्वका बेला सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने, चोक तथा मोडमा गति नियन्त्रण गर्नुपर्ने र बाटो काट्दा दायाँ–बायाँ राम्रोसँग हेरेर सुरक्षित रूपमा अघि बढ्नुपर्ने आवश्यकता यस घटनाले पुनः स्मरण गराएको छ।

प्रतिक्रिया