श्री राष्ट्रिय माध्यमिक विद्यालयमा दशैँको शुभकामना आदानप्रदानदेखि विद्यार्थी सम्मानसम्मका कार्यक्रम सम्पन्न

lawanyasandesh.com

शंखरापुर(साँखु), काठमाण्डौं। शंखरापुर नगरपालिका–९, सानागाउँस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विजया दशमी, दीपावली,न्हुँद ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, विद्यार्थी स्वागत तथा बिदाइ, शिक्षक–विद्यार्थी सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) मा विद्यालयभरि प्रथम स्थान हासिल गर्न सफल भीमबहादुर शाहीलाई रु. ५ हजार ५ पुरस्कार प्रदान गरिएको छ। प्रमुख अतिथि शंखरापुर नगरपालिका–९ का वडाध्यक्ष सहदेव श्रेष्ठले शाहीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो।


त्यसैगरी, कक्षा १२ को सैद्धान्तिकतर्फ नेपाली विषयमा ‘ए’ ग्रेड हासिल गर्न सफल ६ जना विद्यार्थीलाई महेन्द्रबहादुर कटुवालले नगदसहित सम्मान गर्नुभएको थियो। सम्मानित हुने विद्यार्थीमा अविसर गिरी, भीमबहादुर शाही, रेनुका श्रेष्ठ, सुमिना नगरकोटी, सुनिता कुमारी र थिलेन शेर्पा रहेका छन्।


विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै प्रदान गरिएको पुरस्कार तथा सम्मानले उनीहरूलाई आगामी दिनमा अझ मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।


कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। भीमबहादुर शाहीले ३.२८ र अजित कार्कीले ३.२४ GPA हासिल गरेका थिए। उनीहरूलाई वडा कार्यालयका तर्फबाट रु. ५ हजार ५ पुरस्कार प्रदान गरिएको विवरण विद्यालयबाट प्राप्त भएको छ।


विद्यालयको शैक्षिक उपलब्धिमा योगदान पुर्‍याउने शिक्षकहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। आधारभूत तहमा २.६९ GPA, SEE अंग्रेजी विषयमा २.८० GPA तथा कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयमा ३.२६ GPA हासिल गराउन योगदान पुर्‍याएका शिक्षकहरू हरिनारायण पण्डित, बालकृष्ण श्रेष्ठ र विश्वराम ढकाललाई टीका, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।


कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई डायरी, कलम र खादा प्रदान गरी स्वागत गरिएको थियो भने कक्षा १२ उत्तीर्ण गरी विद्यालयबाट बिदाइ हुने विद्यार्थीलाई मायाको चिनो तथा पुरस्कार प्रदान गरिएको थियो।


सो अवसरमा विद्यार्थीहरूले ‘वर्षदिनको चाडबाड’, ‘गोर्खे खुकुरी’, ‘गुराँस फुल्दा बनै रमाइलो’, ‘दशैँ रिमिक्स’ र ‘रेशम’ लगायतका गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। साथै, विद्यालयमा आयोजित खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो।


कार्यक्रममा सहभागी वक्ताहरूले विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।


विद्यार्थीको शैक्षिक उपलब्धिको सम्मान, शिक्षकको योगदानको कदर, सांस्कृतिक प्रतिभाको प्रोत्साहन तथा विद्यालय परिवारबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले विद्यालयको शैक्षिक र सांस्कृतिक वातावरणलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्वीरहरु


प्रतिक्रिया