पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिकातर्फ आउँदै गरेको विद्यार्थी बोकेको स्कुल बस शुक्रबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रारम्भिक विवरण छ।

दुर्घटनामा मृत्यु भएका पाँचमध्ये तीन जनाको पहिचान खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालले उपलब्ध गराएको विवरणअनुसार मृत्यु हुनेमा ममता तिवारी, अशिम कँडेल र पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ।

अस्पतालका अनुसार ममता तिवारी र अशिम कँडेल दुवैको उमेर अनुमानित १२ देखि १४ वर्षको बीचमा रहेको छ। उनीहरूलाई बिहान ८ः३५ बजे मृत घोषणा गरिएको थियो। बाबुराम तिवारी पनि सोही समयमा मृत घोषित भएका थिए। उनी बसमा सवार विद्यार्थी नभई बाटोमा उपचारका लागि लिफ्ट मागेर बसमा चढेका यात्रु रहेको बताइएको छ।

गण्डकी अस्पतालमा ११ घाइतेको उपचार

गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य १० जनाको अवस्था मध्यम रहेको अस्पतालको विवरणमा उल्लेख छ।

गम्भीर घाइते अस्मी कँडेल (१५), पोखरा–२८ निवासी हुन्। उनको टाउको र ढाडमा चोट लागेको छ।

मध्यम घाइते हुनेमा पोखरा–२८ निवासी स्नेहा गौतम (१४), सोनिया तिवारी (१३) र अंकित पराजुली (१३) रहेका छन्। उनीहरू सबैको टाउकोमा चोट लागेको छ।

त्यसैगरी, मादी गाउँपालिका–१२ निवासी स्मृती खत्री (१५), स्नेहा तिवारी (१६), आकृती बुढाथोकी (१४), मेरिना तिवारी (१५), सुप्रिया आचार्य (१४) र यमन मगर (१६) पनि घाइते भएका छन्। उनीहरू सबैको टाउकोमा चोट लागेको अस्पतालको विवरणमा उल्लेख छ।

बसका चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनको ढाड र छातीमा चोट लागेको छ।

गण्डकी मेडिकल कलेजमा तीन विद्यार्थीको उपचार

दुर्घटनामा घाइते भएका थप तीन विद्यार्थीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पतालको विवरणअनुसार उनीहरू बोल्न सक्ने अवस्थामा छन्।

घाइते हुनेमा पोखरा–२८, सौर्य निवासी १६ वर्षीया सृष्टि तिवारी, सोही स्थानका १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८, डाँडागाउँ निवासी १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। तीनै जना कक्षा १० का विद्यार्थी हुन्।

सृष्टि तिवारीको टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट लागेको छ। शिसन थापा मगरको टाउको, ढाड र दुवै हातमा चोट लागेको छ भने सौगात तिमिल्सिनाको टाउको, ढाड र दुवै खुट्टामा चोट लागेको अस्पतालको विवरणमा उल्लेख छ।

उद्धारमा खटिएका प्रहरी जवान पनि घाइते

दुर्घटनामा परेकाहरूको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी

बस सडकबाट करिब दुई सय मिटर तल खसेपछि उद्धारमा सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मी परिचालित भएका थिए। दुर्घटनामा विद्यार्थी, चालक र बाटोमा लिफ्ट मागेर बसमा चढेका यात्रुसमेत परेका छन्।

दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाको कारण, बसको प्राविधिक अवस्था तथा दुर्घटनाअघिको परिस्थितिबारे सम्बन्धित निकायबाट थप जानकारी प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।

प्रतिक्रिया