राजनीतिक सद्भाव र सामाजिक एकताको सन्देश दिँदै नेपाली काङ्ग्रेस शंखरापुर–५ को चियापान कार्यक्रम सम्पन्न

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। राजनीतिक विचार र आस्था फरक भए पनि सामाजिक सद्भाव, आपसी एकता र भाइचारालाई प्राथमिकता दिने उद्देश्यले नेपाली काङ्ग्रेस शंखरापुर नगरपालिका वडा नं. ५ ले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रम आज पालुवारिको बसपार्कमा खुल्लाह रुपमा उत्साहजनक तवरबाट सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि, समाजका अग्रज व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा स्थानीय शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी परिचय, अनुभव आदानप्रदान तथा शंखरापुरको सामाजिक विकास र समृद्धिका विषयमा विचारविमर्श भएको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस शंखरापुर नगर सचिव दीपक दुलालले राजनीतिक विचार र आस्था फरक भए पनि समाजको विकास र नागरिकको हितका सवालमा सबै राजनीतिक दल तथा सामाजिक व्यक्तित्वबीच सहकार्य आवश्यक रहेको बताए। राजनीतिक प्रतिस्पर्धालाई सामाजिक सम्बन्धमा असर पर्ने माध्यम बनाउन नहुने उल्लेख गर्दै उनले आपसी सद्भाव, समझदारी र सहकार्यबाट मात्रै समुन्नत समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

त्यसैगरी, नेपाली काङ्ग्रेस शंखरापुर नगरपालिका वडा नं. ५ का वडा सभापति प्रदीप थापाले राजनीति आफ्नो ठाउँमा रहे पनि सामाजिक सम्बन्ध, भाइचारा र मानवीय एकता सबैभन्दा महत्त्वपूर्ण रहेको बताए। उनले व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह र शुभेच्छा प्रदान गर्ने विभिन्न राजनीतिक दलका नेताहरू, समाजका अग्रज व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभार व्यक्त गरे।

सभापति थापाले शंखरापुरको समग्र विकास र समृद्धिका लागि सबै पक्षबीच आपसी सम्मान, सहकार्य र सद्भावको भावना निरन्तर कायम रहनुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता भेटघाट तथा सामाजिक एकता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।

स्थानीय तहमा राजनीतिक विचार र प्रतिस्पर्धा फरक हुन सक्ने भए पनि साझा सामाजिक हित, विकास निर्माण र नागरिकको सुखदुःखमा सबै पक्ष एकजुट हुनुपर्ने सन्देश चियापान कार्यक्रमले दिएको छ

कार्यक्रमले राजनीतिक दलहरूबीच आपसी संवाद र समझदारी अभिवृद्धि गर्नुका साथै सामाजिक सम्बन्धलाई थप आत्मीय र सुमधुर बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया