शंखरापुर काठमाण्डौं । नेपालभाषाको गजल साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले साँखुमा नेपालभाषा गजल गोष्ठी आयोजना हुने भएको छ। महाकवि गिरिजाप्रसाद लुमन्ति प्रतिष्ठान, साँखुको आयोजनामा आगामी २०८३ असोज २४ गते शनिबार गजल गोष्ठी हुन लागेको हो।
नेपाल संवत् ११४६ कौलागाः आमैंका दिन आयोजना हुने गोष्ठी साँखुस्थित भगवती स्कूल, भौध्वाखा (पुरानो बसपार्क) मा दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालभाषामा गजल लेखन तथा वाचनको अभ्यासलाई थप विस्तार गर्ने र यस क्षेत्रमा सक्रिय स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। गोष्ठीमा नेपालभाषाका करिब ३० देखि ३५ वटा गजल वाचन गरिने कार्यक्रम तय गरिएको छ।
गजलकारलाई रचना उपलब्ध गराउन आग्रह
गजल गोष्ठीमा सहभागी हुन इच्छुक गजलकारले आफ्नो गजल आयोजकलाई उपलब्ध गराउनुपर्नेछ। प्रतिष्ठानका अनुसार गजल बुझाउने अन्तिम मिति २०८३ असोज १८ गते, नेपाल संवत् ११४६ कौलागाः अष्टमी अर्थात् आइतबारसम्म तोकिएको छ।
आयोजकले नेपालभाषामा गजल लेखन तथा वाचनमा सक्रिय स्रष्टाहरूलाई कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ। गोष्ठीमार्फत नेपालभाषाको समकालीन गजल सिर्जना र वाचनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर मिल्ने आयोजकको भनाइ छ।
कार्यक्रममा साहित्यकार भूषणप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यस्तै बरिस्ठ संचारकर्मी,संगित अनुसन्धानकर्ता,चलचित्र निर्देशक एवं साहित्यकार प्रकाश सायमी विशिष्ट अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
महाकवि गिरिजाप्रसाद लुमन्ति प्रतिष्ठानका अध्यक्ष यचु जोशीको अध्यक्षतामा गोष्ठी सञ्चालन हुनेछ। कार्यक्रममा नेपालभाषाका गजलकार, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।
साँखुमा लामो समयदेखि भाषा, साहित्य तथा संस्कृतिसँग सम्बन्धित गतिविधि हुँदै आएका छन्। सोही क्रममा नेपालभाषाको गजल विधालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको यस कार्यक्रमले गजल सिर्जना, वाचन र स्रष्टाबीचको अन्तर्क्रियालाई एउटै मञ्चमा जोड्ने आयोजकको उद्देश्य रहेको छ।
सम्पर्कका लागि
कार्यक्रमसम्बन्धी थप जानकारी तथा गजल संकलनका लागि संयोजक तथा सम्पर्क व्यक्तिहरू रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’ (९८४१२३७१०५), रामेश्वर ह्वाँउँनिभा (९८४१९३९९९९), रमेश श्रेष्ठ (९८४१७५६५३०) र यचु जोशी (९८४१५२५४७६) लाई सम्पर्क गर्न सकिने प्रतिष्ठानले जनाएको छ।