शंखरापुर (साँखु), काठमाण्डौं। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुँदैछ। मतदान सुरु हुनुअघि नै महाधिवेशन प्रतिनिधिहरू मतदानस्थलमा लामबद्ध भएका छन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि शुक्रबारै मतगणना सुरु गर्ने तयारी गरेको जनाएको छ।
खराब मौसम, प्राविधिक समस्या तथा मतदान प्रक्रियामा हुन सक्ने ढिलाइलाई ध्यानमा राख्दै बिहीबार अपराह्नका लागि निर्धारित मतदान शुक्रबार बिहान सारिएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्। उम्मेदवार तथा मतदाताको सङ्ख्या धेरै हुनुका साथै मतपत्र छपाइ र व्यवस्थापनमा समय लागेकाले मतदान प्रक्रिया प्रभावित भएको उनले बताए। मतपत्रमा हस्ताक्षर गर्ने कार्यमा ३२ जना वरिष्ठ अधिवक्ता संलग्न रहेको पनि उनले जानकारी दिए।
सात हजारभन्दा बढी प्रतिनिधि मतदानमा सहभागी हुँदै
महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन विभिन्न स्थानमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएका छन्। निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेको छ।
निर्धारित व्यवस्थाअनुसार राष्ट्रिय सभागृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ।
त्यसैगरी, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ। पहाड हलमै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पनि मतदानको व्यवस्था गरिएको छ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। आवश्यक रुजु प्रक्रिया पूरा भएपछि मात्र मतदान गर्न पाइनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन हुने
१५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। प्रमुख पदहरूमा प्रतिस्पर्धा रहेकाले महाधिवेशनको निर्वाचनलाई पार्टीको आगामी नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।
मतदान सकिएपछि मतपेटिका व्यवस्थापन र आवश्यक प्रक्रिया पूरा गरी शुक्रबारै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
काङ्ग्रेसको विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिको सङ्ख्या २९७ सदस्यीय बनाइएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्। निर्वाचनबाट प्राप्त परिणामले पार्टीको आगामी नेतृत्व संरचना र सङ्गठन सञ्चालनको दिशालाई निर्धारण गर्नेछ।
प्रतिनिधिको थप बसाइ र खानाको खर्च पार्टीले बेहोर्ने
महाधिवेशनको निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप बसाइ तथा खानाको खर्च पार्टीले बेहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै व्यहोर्ने जानकारी दिएका छन्।
निर्धारित समयभन्दा निर्वाचन प्रक्रिया लम्बिएपछि प्रतिनिधिहरूको व्यवस्थापनलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उनले बताएका छन्।